शेर्पाहरुको गाउँ घरमा कुनैपनि कार्यक्रम गर्दा धर्मसंग जोडीरहेको हुन्छन् । शेर्पा समाजमा बुद्धधर्मको दोस्रो बुद्ध लोपोन पेमा ज्युङ्नेको प्राचीन सम्प्रदायलाई विश्वास गर्ने भएको हुनाले कुनैपनि सानो ठुलो कार्यक्रम गर्दा गुरु रीन्पोक्षेको साधना विधि पुरा गरेर मात्र कार्यक्रम अगाडि बढाईन्छ । जस्तै जन्मकर्म, विवाहविधि, मृत्यु संस्कार, नयाँ घरको सुरुवात आदि कुनै पनि सुख दुःखको कार्यक्रम मा सर्वप्रथम गुरुलाई पूजा आराधना गरी गणचक्र चढाउने कार्य पुरा भएपछि मूल कार्यक्रम थाल्ने गरिन्छ ।
शेर्पाहरु धर्ममा अतिनै आस्था र विश्वास राख्दछन् । गोन्पमा आफ्नो गुरुले (वाङ्) अभिषेक र (लुङ्) आगमहरु दिनु हुदा फुर्सद निकालेर सपरिवार गोन्पामा वाङ् लुङ् थाप्न जान्छन् । त्यसै गरी सालमा एक दुई चोटी सपरिवार, साथीभाई र गाउँलेहरुसंग मिलेर तिर्थयात्रा गर्छन् । शेर्पाहरु शहाकारी खानपिन रुचाउने गर्छन् र शेर्पाहरुको समाजमा प्राणी हत्या, हिंसा र काटमार बर्जित गरिएको हुन्छ । यो नै शेर्पा समाजको श्रीसम्पत्ती र उत्तम चरित्र हो र न्यूनतम दैनिक चरित्र, संस्कार र धर्म हो ।