“बुद्धको मार्गमा” तीर्थयात्रा कार्यक्रम

मा प्रकाशित गर्नुहोस्: जनवरी 30, 2024

“बुद्धको मार्गमा” तीर्थयात्रा कार्यक्रम
जीवनमा कम्तीमा एक पटकको बौद्ध तीर्थयात्रा कार्यक्रम

महापरिनिर्वाण सूत्रमा, बुद्ध आफैले आफ्ना अनगिन्ती अनुयायीहरूलाई आफू जन्मेको लुम्बिनीमा, ज्ञान प्राप्त गर्नुभएको बोधगया, सर्वप्रथम धर्मचक्र पवर्तन गरी ज्ञान दिनुभएको सारनाथ र निर्वाण प्राप्त गर्नुहुने कुशीनगरको तीर्थयात्रा गरी पुण्य र उत्कृष्ट पुनर्जन्म प्राप्त गर्न सकिन्छ भनी बताउनु भएको छ ।

हामीले तपाईंलाई यी ठाउँहरूमा लैजान्छौं र भगवान बुद्धको आत्म-अनुशासित र पौराणिक जीवनको अनुभव गर्न मद्दत गर्दछौ । बुद्ध धर्मको उत्पत्ति भएको नेपालको लुम्बिनी-कपिलवस्तु र भारतका बोधगया, सारनाथ, कुशीनगर जस्ता बौद्ध विरासतको समृद्ध सम्झनाहरू बोकेको पवित्र स्थानहरु र ती पवित्र स्थानहरुको वरपर छरिएर रहेका पवित्र कला र वास्तुकलाले भरिएका स्तूपहरू, चैत्यहरु र विहारहरूको भ्रमण गर्नु बौद्धमार्गी र  सबै धर्मका लागि जीवनकालमा कम्तीमा एक टक पुग्नैपर्ने स्थानहरु हुन् । यी पवित्र स्थानहरूको भ्रमण गर्नका लागि एक ज्येष्ठ व्यक्ति हुनु आवश्यक छैन । बुद्धको शिक्षा र यी शिक्षाहरूको आशीर्वाद सामाजिक उत्तरदायित्वमा प्रवेश गर्नेहरूका लागि र आफूलाई राम्रो मानव साबित गर्न एवं राम्रो जीवनयापनमा ढाल्नका लागि अझ महत्वपूर्ण छ ।

हामीले तपाईंलाई बौद्ध धर्मका गुरु लोपोन जिग्द्रेलको मार्गदर्शनमा साँचो धार्मिक अनुभवको लागि यी सबै ठाउँहरूको भ्रमण गर्न मद्दत गर्नेछौं । यो तीर्थयात्रा ती स्थानहरूमा पुग्न र तिनीहरूलाई हेर्नको लागि मात्र होइन, तर तपाईंलाई प्रत्येक स्थानमा पुग्दा ती स्थानहरुको इतिहास र महत्वको बारेमा प्रवचन दिँदै बुद्धको शिक्षामा पूर्णरूपमा मार्गदर्शन दिइनेछ । आउनुहोस, हामी तपाईंलाई बुद्धका पवित्र तीर्थस्थानहरुको यात्रा गरी शान्ति, सुख र ज्ञानको मार्ग पत्ता लगाउन स्वागत गर्दछौं । शान्ति, सुख र ज्ञान पुण्य प्रप्त गरी कम्तीमा उत्कृष्ट पुनर्जन्म वा उत्तममा निर्वाण प्राप्त गर्न उत्प्रेरित गर्दछौं ।

Other Information

उपलब्धता
यो यात्रा तपाईंहरुले अनुरोध गरिएको मितिमा व्यवस्थापन गर्न सकिन्छ । यस यात्रामा कम्तीमा १० जना पुगेपछि समूह पुगेको मान्निछ ।

भारत र नेपाल बौद्धदर्शन भ्रमणको लागि उपयुक्त समय कुन हो ?
यो भ्रमण वर्षभर नै गर्न सकिन्छ । तथपी गर्मी महिनाहरूमा (असर देखी भदौ) महिना भारत र लुम्बिनीको केही भागमा तापमान ४० डिग्री सेल्सियससम्म पुग्छ। यात्राको लागि सबैभन्दा सहज महिनाहरु कार्तिक देखि चैत्रसम्म हो ।

मैले यो भारत नेपाल बौद्धदर्शन भ्रमण गर्न किन आवश्यक छ ?
भगवान बुद्धले आफ्नो जीवनकालमा भ्रमण गरेका सबै ठाउँहरूलाई समेटेर यो भ्रमणको कार्यक्रम बनाइएको हो र यस भ्रमणले तपाईंलाई भगवान बुद्धको पाइलाहरु पछ्याउन सक्षम बनाउने छ । यदि तपाइँ ती ठाउँहरू भ्रमण गर्न र बौद्ध धर्मको बारेमा थप जान्न इच्छुक हुनुहुन्छ भने यो भ्रमणले तपाइँलाई धेरै मद्दत गर्दछ र यो तपाइँको रोजाइको एक मात्र यात्रा कायक्रम हो ।

के मलाई यो भ्रमणको लागि भारत र नेपालका भिसा चाहिन्छ?
चाँहिदैन, यदि तपाईं नेपाली वा भारतको नागरिकता धारक हुनुहुन्छ भने । चाहिन्छ, यदि तपाईं नेपाली वा भारतीय नागरिकता धारक हुनुहुन्न भने ।

यात्रा कार्यक्रम

काठमण्डौं देखि लुम्बिनीको यात्रा गाडीमा आठ घण्टा लाग्छ । लुम्बिनी वा गौतम बुद्धको जन्मस्थल, लगभग ५६४ ईसा पूर्वमा बुद्धले यहाँ जन्म लिनुभएको कारणले गर्दा बुद्ध धर्मको मुख्य पवित्र स्थानहरूमध्ये एक हो । लुम्बिनी बगैंचा र यसको शान्त परिवेश काठमाडौंबाट १७० किलोमिटर दक्षिणपश्चिममा, चुरिया पहाडको दक्षिणमा, रुपन्देही जिल्लामा, बुटवल र बैरहवा सहरहरू नजिक अवस्थित छ । लुम्बिनी पुग्नुभन्दा ६० किलोमिटर अगाडि हामी रामग्राम स्तूपको दर्शन गर्नेछौं ।

रामग्राम स्तूप (पुरानो नाम रामगम) एक मात्र बाँकी रहेको मौलिक स्तूप हो, जुन बुद्धको महापरिनिर्वाण (मृत्यु) पछि निर्माण गरिएको थियो । बौद्ध परम्परा अनुसार महापरिनिर्वाण प्राप्त गरेपछि बुद्धको शवलाई कुशीनगरका मल्लहरूले दाहसंस्कार गरी रामग्रामका कोलियासहित आठ जना दावीकर्ता राजाहरुलाई बाँडिदिएका थिए । सो पवित्र अस्तुहरू गर्भगृहमा स्थपना गरी आठ माहास्तुपहरू निर्माण गरियो । ७ वटा स्तूपका पवित्र अस्तुहरू सम्राट अशोकले ईसापूर्व तेस्रो शताब्दीमा खोल्न आदेश दिएका थिए, जसले तत्कालिन जम्बुदीपमा ८४ हजार स्तूपहरू निर्माण गरेका थिए । तत्कालिन जम्बुदीपमा वर्तमान भारत, बंगलादेश, अफगानिस्तान, पाकिस्तान र नेपाल समावेश थिए । रामग्राम स्तूपलाई नागहरू (वर्तमानमा सर्प देवताको रूपमा मानिन्छ) र उक्त समायका नाग वंशी राजाले संरक्षण गरी राजा अशोकलाइ स्तूप खोल्न नदिएको वर्णन छ । त्यस समयमा बुद्ध धर्मलाई नाग वंशी राजाहरुको कडा समर्थनद्वारा संरक्षित गरिएको थियो ।

आजसम्म, रामग्राम स्तूप बुद्धका पवित्र अस्तुहरू भएको एक मात्र अक्षुण्ण र मौलिक स्तूप रहेको मान्यता रहीआएको छ । यो स्तूप यसको मूल निर्माणकालदेखि नै ठूलो श्रद्धाको वस्तु र तीर्थस्थल भएको छ । ७ मिटर अग्लो (२३ फिट) स्तूप अहिले माटोको ढिस्कोमुनि पुरिरहेको अवस्थामा उत्खनन र थप अनुसन्धानको कार्य भैरहेको छ । स्तुप परिसरको आयामहरू १० मिटर अग्लो र २३.५ मिटर व्यास छन् । एक भूभौतिकीय सर्वेक्षणले सतहमुनि गाडिएको एक उत्तम चतुर्भुज कुषाण विहार रहेको प्रष्ट पारेको छ ।

भ्रमण सकेर हामी लुम्बिनीको बाँकी यात्रा पूरा गर्नेछौं । लुम्बिनी आइपुगेपछि हामी एउटा होटेलमा बास बस्नेछौं । त्यहाँ दुई रात बसी यसको सबैभन्दा महत्वपूर्ण र पवित्र स्थानहरुको भ्रमण दर्शन गर्नेछौं ।

बिहानको खाजा खाएर हामी बुद्धको जन्मस्थल र लुम्बिनीका अन्य ऐतिहासिक स्थलहरूको दर्शन भ्रमण गर्नेछौं । शाक्यमुनि बुद्ध वा गौतम बुद्ध, बौद्ध धर्मको मध्यम मार्गका संस्थापक, ईसापूर्व छैठौं शताब्दीमा यस पवित्र स्थानमा जन्मेका थिए । बौद्ध इतिहासका अनुसार, मायादेवीले ५६४ ई.पू. (नेपाल र श्रीलंकाको मान्यता अनुसार ६२३ ई.पू.) को पूर्णिमाको दिन देवदहमा आफ्नो माइतीघर जाने क्रममा राजकुमार सिद्धार्थ गौतमलाई जन्म दिएकी थिइन् । प्रसव पीडा महसुस गर्दै उनीले रूखको हाँगामा समातिन् र भविष्यका बुद्ध राजकुमार सिद्धार्थ गौतमलाई जन्म दिइन् ।

२४९ ईसापूर्वमा सम्राट अशोकले आफ्नो २० औं जन्मदिनमा लुम्बिनीको भ्रमण गरे । उक्त अवसरमा लुम्बिनीको चारैतिर चारवटा स्तूपहरू निर्माण गरे, जसमा एउटा सङ्केत स्तम्भ खडा गरे, जसलाई पछि अशोक स्तम्भ भनिन्छ । सम्राट अशोकद्वारा खडा गरिएको सङ्केत स्तम्भमा “बुद्ध शाक्यमुनि भगवान यहाँ जन्मेका थिए” “पियादसी राजा” (अशोक) को जस्को अर्थ “देवताहरूको प्रिय राजा” कुँदिएको छ ।

लुम्बिनी सयौं वर्ष हराएरपछि चिनियाँ तीर्थयात्री फा जियान को महत्वपूर्ण यात्रा विवरण अनुसार १८९५ मा जर्मन पुरातत्वविद् डा. फुहरर र खड्ग शमशेरबाट पुनः पत्ता लगाइएको थियो । लुम्बिनीको पहिचान अशोक स्तम्भको शिलालेखद्वारा गरिएका थिए । बुद्धको जन्मस्थल सन् १९९७ देखि मात्रै युनेस्कोको विश्व सम्पदा स्थलको रूपमा तोकिएको छ ।

आजकल, लुम्बिनीमा चीन, जापान, श्रीलंका, म्यानमार, जर्मनी, थाइल्याण्ड र कोरिया समेतका देशहरूले आ–आफ्नो वास्तुकलाको आकर्षणमा गोन्पाहरु निर्माण गरेका छ । त्यसैले हामी तीमध्ये धेरैजसोको भ्रमण गर्नेछौं । साथै विश्व शान्ति स्तुपा र लुम्बिनी संग्रहालयको पनि भ्रमण गर्नेछौं र यहाँ २६०० वर्ष पहिले के भयो भन्ने बारेमा आफ्नो बुझाइलाई बढाउने छौं ।

दिउँसो खानापछि लुम्बिनीबाट २९ किलोमिटर पश्चिममा रहेको प्राचीन शहर कपिलवस्तुको भ्रमण गर्नेछौं । यस जिल्लालाई अहिले प्राचीन शाक्य राज्य, कपिलवस्तुको नाम दिइएको छ । कोसल राज्यका निर्वासित राजकुमार र राजकुमारीहरू वास्तविक तिलौराकोटमा स्थापित हुन सुझाव दिने महान् ऋषि कपिलबाट कपिलवस्तु नाम प्राप्त भएको मानिन्छ । कोसललाई शाक्य शाही वंश र तिनीहरूको साम्राज्यको रूपमा चिनिन्थ्यो । यो पवित्र स्थान जहाँ राजकुमार सिद्धार्थले राजकुमारको रूपमा आफ्नो सांसारिक जीवनको पहिलो २९ वर्ष बिताएको ठाउँ हो र गौतम बुद्धभन्दा पहिला दुईवटा बुद्ध उत्पादन गर्ने क्षेत्र हो । उनले २९ वर्षको उमेरमा आफ्नो राजकुमार, दरबार र राज्य त्याग गरे र एक भिक्षु बने । उहाँले मूलतः मनुष्यको दुःख पीडा जस्तैः जन्म, बुढापन, बिमारी र मृत्युबाट कसरी छुटकारा पाउने भन्ने तथा स्वतन्त्र विचार, मानवता, स्वतन्त्रता, समानता, भ्रातृत्व, शान्ति र अहिंसाको गतिशील सन्देश सम्पूर्ण मानव जातिमा फैलाउनुभयो । बुद्धले अन्तिम साससम्म सम्पूर्ण मानव संसारको चेतनालाई परिवर्तन ग¥यो, र हाल पनि जारी छ । कपिलवस्तु बुद्धको पछिल्ला विभिन्न भ्रमणहरूसँग सम्बन्धित एक पवित्र स्थान पनि हो ।

हामी तौलिहवाबाट ३ किलोमिटर दक्षिणमा रहेको निग्रोधरमाको पुरानो स्थल कुदान स्तूपाको पनि भ्रमण गर्नेछौं । कुदानलाई हाल कुदान वा लोरी–की कुदान भनिन्छ । शाक्यमुनि बुद्धले बुद्धत्व प्रप्त गरेपछि यहाँ आफ्नो बुबा राजा शुद्धोधनसँग पहिलो पटक भेटेका थिए र कुदान स्तूप यस महान घटनाको सम्झनामा निर्माण गरिएको थियो । यो शाक्यमुनि बुद्धको पाँच मज्जिमनिकाय सुत्त प्रवचनको पवित्र स्थान पनि हो । मौर्य, सुङ्ग, कुषाण र गुप्तकालमा स्तूपको जीर्णोद्धार र पुनस्र्थापना गरिएको थियो । यस ठाउँलाई काकुसन्ध बुद्ध र कोणागमन बुद्धको जन्मस्थलको रूपमा पनि चिनिन्छ । काकुसन्ध बुद्ध ईस पूर्व ८०० (भद्रकल्पका प्रथम बुद्ध), कोणागमन (भद्रकल्पका दोस्रो बुद्ध), कसपा (भद्रकल्पको तेस्रो बुद्ध), गौतम (भद्रकल्पका चौथो र वर्तमान बुद्ध) र मैत्रेय (भद्रकल्पको पाँचौं र भावी बुद्ध) हरु हुन् । प्रारम्भिक चिनियाँ यात्रुहरू फा–सिएन (सातौं शताब्दी ईस्वी) र ह्युएन त्साङ (पाँचौं शताब्दी ईस्वी) ले निग्रोधरमा राजा शुद्धोधनद्वारा भगवान बुद्ध शाक्यमुनिको आगमन र स्वागत सहित विभिन्न घटनाहरू आफ्नो यात्रा विवरणमा वर्णन गरेका छन् ।

अन्य महत्वपूर्ण स्थानमा राहुला स्तूप हुन्, जुन बुद्धका छोरा राहुललाई एक श्रमनेरको रूपमा मठमा स्वीकार गरिएको घटनाको सम्झनामा निर्माण गरिएको थियो । उक्त स्तुपको शीर्षमा अष्टभुज शिव मन्दिर पनि छ, जुन पछि हिन्दुहरूले बनाएका हुन् । नजिकै निग्लिहवामा अर्को अशोक स्तम्भ छ । हामी दर्शन भ्रमण पूरा गरेर लुम्बिनी फर्किनेछांै र खाना खाएर अर्को रात यस पवित्र स्थानमा बिताउने छौं ।

बिहानको खाजापछि, श्रावस्तीको लागि गाडीको यात्रा सुरु हन्छ । श्रावस्ती बौद्ध धर्मावलम्बीका आठ पवित्र तीर्थस्थलमध्ये एक हो । श्रावस्तीमा तपाईंले पुरातन स्तुपहरू, साहेत मेहेत भनिने बौद्ध स्थलहरूको विशाल भग्नावशेषहरू, अंगुलीमारको गुफा र सुजाताको घरको दर्शनीया भ्रमण गर्नुहुनेछ ।

बुद्ध धर्मावलम्बी चिनियाँ यात्रु फाहियानले लेखेका यात्रा विवरणको आधारमा सर अलेक्ज्याण्डर कनिङ्घमले १८६३ मा श्रावस्तीको पहिचान गरेको नै वर्तमान साहेत–महेत श्रावस्ती हो ।

फाहियानले लेखेका छन् कि गन्ध (सुगन्ध) कुटी वरिपरि सदाबहार रुखका जङ्गल थिए । रङ्गीबिरङ्गी फूलहरु फुलेका थिए र फूलहरुका गन्धका कारण वातावरण एकदमै राम्रो थियो । त्यसैले यो पवित्र ठाउँको नाम गन्ध कुटी रहन गएका थिए ।

गन्ध कुटी जेतवनको बीचमा थियो र बुद्धको बास गन्ध कुटीमा थियो । बुद्ध धेरैजसो समय यहीँ बस्नुहुन्थे । बुद्धले धेरैजसो बोल्नु भएको पनि यहीँ थियो । फाहियानको विवरण अनुसार बुद्धले सबैभन्दा बढी २५ वर्षको समय यहीँ बिताउनु भएको र बुद्धले सबैभन्दा बढी ८४४ सुत्तको उपदेश यहीँ दिनु भएको बताएका थिए ।

फाहियानकै अनुसार यसै जेतवनभित्र अनाथपिण्डिकाले भिक्षुहरूका लागि विश्रामगृहहरू पनि बनाएका थिए । १९औं नम्बरको ध्यान कक्षबाट जगमा गाडिएको अवस्थामा तामाको पाता फेला परेका थिए र जस्मा जेतवन लेखिएको थिए । यसै तामाको पाताले स्पष्ट ग¥यो कि असली जेतवन यहाँ मात्रै हो नत्र जेतवनलाई जताततै खोजिँदै थियो ।

तामाको पाता साँढे दुई फिट अग्लो माटोको बक्समा भेटेको थियो र तामाको पाता १८ इञ्च लामो, १४ इञ्च अग्लो र चौथाई इञ्च बाक्लो रहेको र त्यसमा २७ लाइन लेखिएका बताइएको छ । सो तामाको पाता गहडवाल नरेश गोविन्दचद्रले संवत ११८६ आषाढ पूर्णिमाको दिन, सोमबार, तामाको पाता वाराणसीबाट जारी गरी चडाएका थिए । आषाढ पूर्णिमा गुरु पूर्णिमा हो र यसै दिन बुद्धले पहिलोपटक सारनाथमा ज्ञान दिनुभएको थियो । ठ्याक्कै यही गुरुपूर्णिमाको दिन राजा गोविन्दचन्द्रले बुद्ध र बौद्ध भिक्षुहरुलाई गुरु मानेर ६ गाउँको आम्दानी जेतवनको भिक्षु संघलाई दान गरेका विवरण तामाका पातामा उल्लेख थिए ।

बिहानको खाजापछि, कुशीनगरसम्मको गाडीको यात्रा विभिन्न बस्तीहरु र गोरखपुर शहर पार गर्दै गरिन्छ । श्रावस्ती पुगेपछि दिउँसो, तपाईंलाई महापरिनिर्वाण मन्दिर र रामभर स्तूपाको दर्शन भ्रमणमा लगिने छ । रामभर स्तूप त्यो पवित्र स्थान हो जहाँ भगवान बुद्धले आफ्नो अन्तिम उपदेश दिए र भने, “सबै चीजहरू नास हुनुपर्छ । क्षयको विरासत सबै चीजहरूमा छ” । कुशीनगर एक महान बौद्ध अनुयायी मौर्य राजा अशोकको अधीनमा एक महत्वपूर्ण केन्द्र थियो । रामभर स्तूपा कुशीनगरको सबैभन्दा महत्वपूर्ण स्थलचिन्ह हो, र स्तूपलाई ५४३ ईसा पूर्वमा भगवान बुद्धको दाहसंस्कार गरिएको ठाउँमा निर्माण गरिएको भनिन्छ । एक प्राचीन बौद्ध ग्रन्थले यस स्तूपलाई ‘मुकुट–बन्धन चैत्य’ भनिएको छ ।

महापरिनिर्वाण मन्दिर कुशीनगरको अर्को आकर्षण हो, जहाँ भगवान बुद्धको विशाल मूर्ति महापरिनिर्वाण स्थितिमा छ । यसमा बुद्धको ६.१० मिटर लामो मूर्ति सुतेको अवस्थामा राखिएको छ । यो मूर्ति १८७६ को उत्खननका क्रममा फेला परेको थियो । महापरिनिर्वाण मुद्रामा दाहिने पारी शायनमा रहनु भएको बुद्ध मूर्ति चुनार बलौटे ढुङ्गाबाट कुँदिएको छ । मूर्तिमुनिको शिलालेखमा पाँचौं शताब्दी भनी जनिएको छ । यो मथुराका एक महान मूर्तिकार दिन्नाद्वारा निर्मित महापरिनिर्वाण मुद्रामा करुणाको सागर, भगवन बुद्धको दयनीय पवित्र प्रतिमा हो ।

भगवान बुद्धले आफ्नो अन्तिम उपदेश दिएको ठाउँ मठाकुवर तीर्थस्थल हो । निर्वाण स्तूपबाट मठाकुवर मन्दिर करिब ४०० गजको दूरीमा छ । यहाँ बोधी रूखमुनि पृथ्वी स्पर्श मुद्रा (भूमिस्पर्श मुद्रा) मा भगवान बुद्धको ढुङ्गाको मूर्ति उत्खनन गरिएको थियो । मूर्तिको आधारमा रहेको शिलालेख १० औं–११ औं शताब्दीको हो । यस मन्दिरको छेउमा एउटा गुम्बाको भग्नावशेष फेला परेको थियो ।

बिहानको खाजापछि कुनै पवित्र स्थलहरु दर्शन गर्न छुटेको भए दर्शन भ्रमण गर्नेछौं र पटनाको लागि यात्रा गर्नेछौं । साथै, बाटोमा, बैशालीको दर्शन भ्रमण गर्नेछौं । बैशालीको नाम राजा बिशालबाट आएका हुन् र यो लिच्छबीहरुको राजधानी थियो । महापरिनिर्वाणपछि प्राप्त भएको बुद्धका अस्तुहरूको आठ भागहरूमध्ये एक भागलाई श्रद्धापूर्वक बैशाली ल्याई स्तुपा निर्माण गरिएको थियो । बैशाली तेस्रो महत्वपूर्ण स्थान थियो, जहाँ बुद्धले बुद्धत्व प्राप्त गरेपछि आफ्नो तेस्रो उपदेश दिएका थिए । यहाँ बुद्धद्वारा भिक्षु संघको आयोजना गरी थप हेरचाहका लागि आमा महाप्रजापति गौतमीलाई हस्तान्तरण गरिएको थियो । बैशालीको भ्रमणपछि, पटनाको यात्रा थाल्ने छौं । समय मिलाएर हामी बिहार प्रदेशका विभिन्न भागहरूबाट पुरातात्विक खोज र उत्खनन् क्रममा प्राप्त बुद्ध अवशेषहरूको दर्शन आवलोकन गर्न पटना सङ्ग्रहालयको भ्रमण गर्नेछौं ।

बिहानको खाजापछि हामी नालंदाको यात्रमा निस्कने छौं । नालंदा पुग्नुभन्दा पहिले बाटोमा हामी राजगीर पर्वतको दर्शन भ्रमण गर्नेछौं । राजगीर दोस्रो महत्वपूर्ण स्थान हो, जहाँ बुद्धले बुद्धत्व प्राप्त गरेपछि दोस्रो उपदेश दिएका थिए । राजगीर पर्वतको दर्शन भ्रमणपछि हामी सप्तपर्णी गुफा, तातो पानीको मुहान, गिद्ध कुट पर्वत (च्यगो फुपोइ री), राजगीरको विश्व शान्ति स्तूप र नालंदा विश्वविद्यालयको भग्नावशेष, सङ्ग्रहालय, नालन्दाका मन्दिर र स्तूपहरूको दर्शन भ्रमण गर्नेछौं ।

बिहानको खाजापछि कुनै पवित्र स्थलहरु दर्शन भ्रमण गर्न छुटेको भए दर्शन भ्रमण गर्नेछौं र त्यसपछि बोधगयाको लागि आरामदायी यात्रा गर्नेछौं । बोधगया पुगेपछि हामी होटलमा बास बस्नेछौं र बाँकी दिन आराम गर्नेछौं ।

हामी महाबोधि मन्दिरको भ्रमण गर्नेछौं, जुन बोधगयाको सबैभन्दा लोकप्रिय र पवित्र मन्दिरहरूमध्ये प्रमुख हो भने बौद्ध संसारको सबैभन्दा लोकप्रिय मन्दिरहरू मध्ये एक हो । त्यहीँ बोधिवृक्षमुनि भगवान बुद्धले पूर्णिमाको दिनमा आज भन्दा करिब २६०० वर्ष पहिले बुद्धत्व प्राप्त गरेका थिए । महाबोधि मन्दिर सम्राट अशोकले आफ्नो बोधगयाको दर्शन भ्रमण क्रममा बुद्धले महापरिनिर्वाण लिनुभएको २५० वर्षपछि निर्माण गरेका थिए । हामीले यहाँ पनि बुद्धजन्मास्थल लुम्बिनीमा जस्तै विभिन्न देशका मानिसहरूद्वारा निर्मित धेरै मन्दिर÷मठहरूको दर्शन भ्रमण गर्न सकिनेछ । महाबोधि मन्दिर र बोधिवृक्षको भ्रमण पश्चात बाँकी दिन धार्मिक कार्यमा भाग लिन सकिनेछ । हामी बुद्धसँग सम्बन्धित धार्मिक महत्वका निम्न स्थलहरूको भ्रमण गरिरहन्छौं ।

  • सील्वाछल् तुर्ठो ।
  • लोटुक कावा ।
  • नरञ्जान खोला
  • ठुलो बुद्धा मुर्ती ।
  • धेरै गुम्बाहरु ।
  • ज्यीक्सु रुंवी तुर्ठो ।

बिहानको खाजापछि सारनाथ हुँदै वाराणसीको लागि ड्राइभ गर्नुहोस् । सारनाथ गौतम बुद्धले पहिलो धर्म दर्शन दिनुभएको (धर्म सिकाएको) ठाउँको रूपमा प्रख्यात छ, जहाँ बुद्धले बुद्धत्व प्राप्त गरेपछि पहिलो धर्म उपदेश दिनुभएको थियो । यो ठाउँ बौद्ध धर्मको मूल संघको स्थापना भएको स्थान पनि हो । बुद्ध पूर्णिमा (भगवान बुद्धको जन्मदिन) को अवसरमा बुद्धका अस्तुको अवशेषहरूको दर्शन यात्रा निकालिन्छन् । बौद्ध धर्मको प्रसिद्ध मन्त्र ‘बुद्धम् सरनाम गच्छमि’, को शुरुवात (उत्पत्ति) पनि सारनाथबाट नै भएको हो । तीन रत्नहरू – “बुद्धम् सरनाम गच्छमि” म बुद्धको शरणमा जान्छु, “धम्मम सरनाम गच्छमि” म धम्म चक्रको शरणमा जान्छु, “संघम सरनाम गच्छमि” म संघको शरणमा जान्छु – धम्म शपथ पहिलो पटक यहाँ शुरु गरिएको थियो, जुन त्यसबेलादेखि आजसम्म अपरिवर्तित छ । तसर्थ प्रत्येक बौद्ध तीर्थयात्रीले आफ्नो जीवनकालमा सारनाथको दर्शनको लागि आशीर्वाद प्राप्त गर्ने प्रयास गर्दछ । बाटोमा पवित्र स्थल सारनाथको भ्रमण गरेपछि, रातको बसाइको लागि हामी वाराणसी जानेछौं । वाराणसीपछि हिन्दु भारतको धार्मिक राजधानी र भारतीय जीवनको एक सूक्ष्म जग बन्न गएको स्थान भए पनि भगवान बुद्धले आफ्ना पाँच शिष्यहरूलाई चार महान सत्यहरूको प्रथम उपदेश दिएको पवित्र स्थान हो ।

वाराणसीको जन्म अज्ञात छ, जब भगवान बुद्ध ५०० ईसापूर्वमा वाराणसी आइपुग्दा, उनले एक पुरानो बस्ती भेट्टाए । तसर्थ वाराणसी संसारको सबैभन्दा पुरानो शहरहरूमध्ये एक (जुन अनुमानित ५००० वर्ष पुरानो) हो । यो स्थान यसको आध्यात्मिक र साँस्कृतिक इतिहासको लागि प्रसिद्ध छ, र हिन्दुहरू वाराणसीमा मृत्यु र दाहसंस्कार प्रप्त गरे मुक्ति पाइने विश्वास गर्छन् । वाराणसीमा तपाईंले धेरै पुरानो मन्दिरहरू, नदी किनारहरू, साना गल्लीहरू, खाना, संस्कृति र सम्पूर्ण वातावरणको पुरातन रूप देख्नुहुनेछ । दिउँसो, हामी शहरको पुरानो भाग भ्रमण गर्छौं र साँझ सूर्यास्तमा आरती पूजा अवलोकन भ्रमण गर्नेछौं ।

वाराणसीबाट हामी सडकमार्ग हुँदै काठमाडौं फर्कनेछौं । ड्राइभ गरेर फर्कने बाटो उस्तै सुन्दर छ र हामी कुनै हतार नगरी फर्कने छौं । कुल ड्राइभिङ दूरी ५२५ किलोमिटर छ, तर बाटोमा आराम गर्ने समय सहित न्यूनतम १५ घण्टा लाग्नेछ । उडानमार्ग लिन चाहनेहरूले वाराणसीदेखि दिल्ली र दिल्लीदेखि काठमाडौं उडान गर्नुपर्नेछ ।

लागत समावेश सेवाहरु / लागतमा समावेश नभएकासेवाहरू
लागत समावेश सेवाहरु
  • काठमाडौं देखि काठमाडौं सम्म रिजर्भ गाडी
  • दर्शनीय स्थल र अन्य गतिविधिहरूको प्रवेश शुल्क
  • काठमाडौं देखि काठमाडौं सम्म पथप्रदर्शक
  • काठमाडौं देखि काठमाडौं सम्म होटलको कोठा र खाजा (प्रति कोठा २ जना)
  • काठमाडौं देखि काठमाडौं सम्म भ्रमण कार्यक्रम अनुसार सबै प्रवेश शुल्क र अनुमतिहरू
लागतमा समावेश नभएकासेवाहरू
  • काठमाडौं देखि काठमाडौं सम्मको दिउँसो र बेलुकाको खाना
  • उडान रद्द, खराब मौसम, सडक अवरुद्ध र प्याकेज बाहेक अतिरिक्त दिन बस्ने अवस्थामा परि आएका खर्चहरु
  • यात्राबीमा
  • व्यक्तिगत प्रकृतिको खर्च
  • पथप्रदर्शक, चालक र सहचालकहरूलाई टिप्स ।
नेपाल, भारत, तिब्बत र श्रीलंकाको बौद्ध तीर्थयात्रा गर्न जानु एउटा परिवर्तनकारी अनुभव हो।

तीर्थयात्रा

मार्च 18, 2024

श्रीलंकाको बौद्ध यात्रा

१४ रात १५ दिनको पहिले कहिल्यै नगरिएको श्रीलंकाको बौद्ध यात्रा श्रीलंका बौद्ध दर्शन पछ्याउने एक लचिलो राष्ट्र हो । जहाँ तपाईले भगवान बुद्धको पदचिह्न, हिन्द महासागरको प्राचीन संस्कृति र आध्यात्मिक अभ्यासको साक्षी पाउनुहुनेछ । काठमाडौं बाट […]

थप पढ्नुहोस्
मार्च 4, 2024

त्रिलोकीनाथ मन्दिर दर्शन

श्री त्रिलोकीनाथ मन्दिर (तिब्बतीमा गर्श फाक्पा གར་ཞ་འཕགས་པ) भारतको हिमाचल प्रदेशको लाहौल र स्पीति जिल्लामा स्थीत छ । यो दर्शनीय स्थान चन्द्रभागा वा चेनाब नदीको बायाँ किनाराबाट ६ किमी दक्षिणमा र उदाईपुर गाउँबाट करिब ९ किमीको दूरीमा […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

हलेसी माराटिका

परिचय हलेसी भन्नाले शेर्पा र तिब्बती भाषामा प्रशंसनीय (हल्याउ) भनेर बुझिन्छ र माराटिकाको अर्थ माराहरु (मृत्युको अन्त्य वा मारा राक्षस हटाएकोे) परास्त गर्नु भन्ने हुन्छ । तसर्थ हलेसी–माराटिका भन्नाले “माराहरुमाथि प्रशंसनीय विजय” भन्ने बुझिन्छ । हलेसी–माराटिका […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

क्षुमीक च्यङक्षुप (दामान)

क्षुमीक च्यङक्षुप (ऋषेश्वर) ཆུ་མིག་བྱང་ཆུབ་, मकवानपुर जिल्लाको दामान र सिमभञ्ज्याङको बीचमा गुरू पद्मसम्भवको पवित्र तीर्थस्थान रहेको छ । यो तीर्थस्थान बौद्धमार्गीहरुका लागि धेरै समहत्वपूर्ण मनिन्छ । गुरु पद्मसम्भवले नेपाल, भारत र तिब्बतमा अति भयानक एवं डरलाग्दोे राक्षस र दानवहरुले धेरै दुःखदिने स्थानहरुमा पाईला राखी केही दिन ध्यान बस्दै, शक्ति प्रप्त गर्दै...

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

छो पेमा अथवा रेवलसर

छो पेमा अथवा रेवलसर ताल, जसलाई तिब्बती भाषामा छो पेमा (छो-पोखरी, पेमा-कमलको फूल) भनिन्छ, जुन भारतको हिमाञ्चल प्रदेश स्थित मण्डी जिल्लाको पहाडमा अवस्थित मध्य-उचाईमा रहेको ताल हो । मण्डी शहरबाट २२.५ किलोमिटर दक्षिण-पश्चिममा अवस्थित यस ताल समुन्द्र सतहबाट लगभग १,३६० मिटर (४,४६० फिट) को उचाइमा रहेको छ ।

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

ल्हासा र कैलाशपर्वत यात्रा

तिब्बतको ल्हासा र कैलाशपर्वत (काङ रिन्पोक्षे) को हाम्रो यात्रा नेपालको राजधानी काठमाडौंबाट ल्हासा सिधा उडानबाट सुरु हुन्छ । ल्हासाको मुख्य पवित्र स्थानहरू जस्तै जोखाङ मन्दिर, पोताला दरवार, नोर्बु लिंका र वरखोर, डेपुङ, सेरा, टक यर्पा, गदेन, सम्ये ल्हखङ लगायतको दर्शन भ्रमण गर्नेछौं । ल्हासा पछि कैलाश हुँदै काठमाडौं फर्कने बाटोमा हामी तिब्बतका प्रमुख सहरहरू, ग्यान्चे र सिगात्चे लगायत ठाउँमा रोकिन्छौं, र कुबुम क्ष्योर्तेन, टाशी ल्हुन्पो र शाक्य ल्हखङ जस्ता महत्त्वपूर्ण गोन्पाहरूको भ्रमण दर्शन गर्नेछौं ।

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

ताक्मो लु ज्यीन् (नमो बुद्ध)

नमो बुद्धले बुद्धको पूर्व जीवनको असाधारण कथालाई प्रकाश गर्दछ, जसलाई एक बाघिनी र तिनका पाँच सानो डमरुको दयनीय दृश्यमा करुणाले छोएको थियो, जसको कारणले बोधिसत्व राजकुमारले आफ्नो शरीरलाई खानाको रूपमा बाघिनीलाई दिइ बाघिनी र डमरुहरुको जीवन बचेको थियो । नमो बुद्ध स्तुपको उत्पत्तिको दुःखद कथा बोधिसत्व भगवान बुद्धको बत्तीस पुनर्जन्मसँग सम्बन्धित रहेको छ । वर्तमान नमो बुद्धको पुरानो नाम गन्धमालापर्वत थियो ।

थप पढ्नुहोस्