ल्हासा र कैलाशपर्वत यात्रा

मा प्रकाशित गर्नुहोस्: फेब्रुअरी 6, 2024

यात्राको छोटो परिचय
तिब्बतको ल्हासा र कैलाशपर्वत (काङ रिन्पोक्षे) को हाम्रो यात्रा नेपालको राजधानी काठमाडौंबाट ल्हासा सिधा उडानबाट सुरु हुन्छ । ल्हासाको मुख्य पवित्र स्थानहरू जस्तै जोखाङ मन्दिर, पोताला दरवार, नोर्बु लिंका र वरखोर, डेपुङ, सेरा, टक यर्पा, गादेन, सम्ये ल्हखङ लगायतको दर्शन भ्रमण गर्नेछौं । ल्हासा पछि कैलाश हुँदै काठमाडौं फर्कने बाटोमा हामी तिब्बतका प्रमुख सहरहरू, ग्यान्चे र सिगात्चे लगायत ठाउँमा रोकिन्छौं, र कुबुम क्ष्योर्तेन, टाशी ल्हुन्पो र शाक्य ल्हखङ जस्ता महत्त्वपूर्ण गोन्पाहरूको भ्रमण दर्शन गर्नेछौं ।

त्यसपछि यो यात्रा तिब्बतको पश्चिमी भुखण्डको उत्कृष्ट परिदृश्यहरूले भरिएको केही अचम्मको परिदृश्यहरू हुँदै पवित्र पर्वत कैलाशसम्म जारी रहन्छ । कैलाशपर्वत धेरै धर्महरू जस्तै बौद्ध, बोन, हिन्दु, जैन आदि धर्मका लागि पृथिवीमा सबै भन्दा पवित्र स्थलहरू मध्ये एकहो । बौद्धहरूको लागि कैलाश तिनीहरूको मेरु पर्वत हो, अर्थात संसारको अक्ष र बुद्ध चक्रसम्बरको निवासहुन। हिन्दुहरूका लागि पनि कैलाश शिवको वासस्थान र मेरु पर्वत हो । जैनहरूका लागि, कैलाश तिनीहरूको मेरु पर्वत पनि हो, सबै भौतिक र आध्यात्मिक ब्रह्माण्डको केन्द्र हो र उनीहरु विश्वास गर्दछन् कि जैन धर्मका संस्थापकले अष्टपदमा अमरत्वप्राप्त गरे र कैलाशलाई पवित्र स्थलहरू मध्ये एक मान्छन्। तिब्बतको पुरातन मूल धर्म बोन्पोका लागि, बौद्ध धर्मले तिब्बतमा आफ्नो जरा गाड्नु भन्दाअघि, कैलाश तिनीहरूको सबैभन्दा पवित्र स्थान हो, कैलाशमा यिनीहरुको गहिरो जरा छ र बोन्पोहरुकोे विश्वास कायम छ । यदि तपाईं विश्वको पवित्र र महान् पदयात्राको लागि कैलाशमा हुनुहुन्छ भने, तपाईंले बोन्पोहरूलाई कैलाशको उल्टो कोरा (घुम्नु) गर्दै गरेको भेट्नुहुनेछ!

कैलाशपर्वत प्रख्यात बोन्पो गुरु, नारो बोन्चुङ र बौद्ध गुरु ज्येचुन मिलारेपा बीचको प्रसिद्ध पौराणिक डरलाग्दो जादूगरहरूको युद्ध स्थल पनि हो । दुई दिग्गज गुरुहरु अ-अफ्नो वर्चस्वको बहसमा पुगेका थिए, तर दुवैले निर्णायक जित हासिल गर्न सकेनन् । अन्ततः भोलिपल्ट बिहान कैलाशको शिखरमा जो पहिले पुग्ने उही सर्वोच्च बन्ने निणर्य गरियो । नारो बोन्चुङले आफ्नो जादुई ढ्याङ्ग्रोमा सवार भएर बिहान सबेरै आफ्नो यात्रा सुरु गरे, जबकि मिलारेपाले आफ्ना अनुयायीहरूलाई आफ्नोे लागि खाजा तयार गर्न आग्रह गर्दै थिए, मिलारेपाका चेलाहरु छक्क परे । नारो बोनचुङ शिखरको नजिक पुग्दा, मिलारेपा आफ्नो जादुई क्रियामा आए, सूर्यको प्रथम किरणमा सवारी गरे र कैलाशको सिखरमा उभिए । जिस्क्याउने भावले, मिलारेपाले नारो बोनचुङतर्फ केही हिउँ फाले जसको परिणामस्वरूप ठूलो हिमपहिरो गयो । नारो बोनचुङले मिलारेपाको सर्वोच्चता स्वीकार गरे र आफ्नो जादुई ढ्याङ्ग्रोकोे पछाडि आफ्नो अनुहार लुकाइराखे। त्यसै कारणले बोनपोहरु (हाल पोन्पोहरु), अझै पनि ढ्याङग्रो पिट्ने र घुम्ने क्रममा ढ्याङ्ग्रोले आफ्नो अनुहार लुकाउँछन नभन्ने भनाई छ ।

पवित्र कैलाशपर्वत पश्चिममा कर्णाली र सतलज, पूर्वमा यार्लुङ चाङ्पो र उत्तरमा सिन्धु गरी चार ठूला नदीहरूको स्रोत पनि हो । यी ठूला नदीहरूले सम्पूर्ण दक्षिण एशियालाई पानी खुवाउँछन् । ६,७१४ मिटर अग्लो कैलाशपर्वतले कुनै पनि ठूलो हिमालहरूसंग प्रतिद्वन्द्वी गर्दैन, तर कैलाश र यसको जलक्षेत्र हिमालयभन्दा पुरानो छ । तिब्बतमा हाम्रो उत्कृष्ट भ्रमण पूरा गरेपछि, हामी नेपालतर्फको यात्रा जारी राख्छौं र सडक मार्ग हुँदै काठमाडौं फर्कन्छौं, जहाँ हामी हाम्रो अविस्मरणीय भ्रमणको अन्त्य गर्नेछौं!

यात्रा कार्यक्रम

चाइना साउथवेष्ट वा हिमालय एयरलाइन्सको काठमाडौंबाट ल्हासाको एक घण्टाको ट्रान्स-हिमालय उडानले हामीलाई सगरमाथा र अन्य हिमालयन चुचुराहरूको हवाई दृश्य देखाउँदै ल्हासाको गोङ्गर एयरपोर्टमा, स्थानीय समय अनुसार दिउँसो १.३० बजे अवतरन गराउँछ ।अध्यागमन र भन्सार कार्य गरेपछि ल्हासा सम्मको ५० किलोमिटरको यात्रा ४० मिनेटको समयमा पूरा गर्नेछ । ल्हासा आइपुगेपछि हामी होटलमा चेकइन गरी बाँकी समय आराम गर्छौं ।

ल्हासा, तिब्बत स्वायत्त क्षेत्रको राजधानी, यार्लुङ चङ्पो नदीको सहायक नदी किचु नदीको उत्तरी किनारमा, समुद्र सतहबाट ३६५० मिटरको उचाइमा अवस्थित छ । ल्हासाको १२०० वर्ष भन्दा बढीको इतिहास छ र यो प्राचीन कालको चेतङको राजधानी पछि तिब्बतको राजनीति, अर्थव्यवस्था, संस्कृति र धर्मको केन्द्र रहेको छ । तिब्बतीमा “ल्हासा” को अर्थ “भगवानहरूको भूमि” हो । ल्हासामा प्रशस्त रमणीय स्थल र ऐतिहासिक आकर्षणहरू छन्, जसमध्ये १००० कोठाभएको दलाई लामाको तेह्र तले पोताला दरबारदर, नोर्बु लिङ्का (दलाई लामाको ग्रीष्मकालीन दरबार), डेपुङ गोन्पा, सेरा गोन्पा, च्योखाङ मन्दिर (तिब्बतको सबैभन्दा पवित्र मन्दिर) र प्रसिद्ध रामोचे मन्दिर लगायतहरु दर्शनीय छन् ।

बिहानको खाजापछि हामी ल्हासाको पुरानो खण्डको मध्यभागमा रहेको वरखोर भनिने चोकमा अवस्थित पवित्र च्योखाङ मन्दिरको भ्रमण गर्नेछौं, जुन सातौं शताब्दीको मध्यमा बनाइएको थियो । यो पछि क्रमिकरुपमा शासकहरुद्वारा विस्तार गरिएको थियो र अन्तिममा पाँचौं दलाई लामाद्वारा यसको पुनर्निर्माण गरिएको थियो र अब यो एक विशाल वास्तुकलाको परिसर भएको छ । पूर्वमा अवस्थित र पश्चिमतर्फ फर्केको च्योखाङ सुन्दर सुनको छाना भएको चार तले मन्दिर हो । यसको वास्तुकलामा थाङ राजवंशको कला रहेको छ तर यसले नेपाली र भारतीय बौद्ध मन्दिरहरूका धेरै विशेषताहरूलाई पनि आत्मसात गरेको छ । मन्दिरको भित्तेचित्रमा ऐतिहासिक र धार्मिक पात्रहरूको जीवनकथा चित्रण गरिएको छ । मन्दिरमा राजा सोङचेन गोम्पो, राजकुमारी वेनचेङ, राजकुमारी भृकुटी देवी (नेपाली) को मूर्तिहरू सहित दुवै रानीहरुले चीन र नेपालबाट दाइजोको रूपमा ल्याएका धेरै महत्वपूर्ण बौद्ध मूर्तिहरू र छविहरू राखिएको छ । साथै राजकुमारी विलो (एउटा रूख) र काका-भतिजा एलायन्स ट्याब्लेट (सन्धि शिलालेखको ढुङ्गाको स्तम्भ) पनि यही छ । च्योखाङ तिब्बतको आध्यात्मिक केन्द्र र तिब्बती बौद्ध तीर्थयात्रीहरूको लागि सबै भन्दा पवित्र गन्तव्य हो । यसमा (च्यो रिन्पोछे) शाक्यमुनिको १२ वर्षको उमेरको मूर्ति राखिएको छ।

त्यसपछि हामी तिब्बती संसारको सबैभन्दा प्रसिद्ध वास्तुकला कार्यहरूमध्ये एक भएको पोताला दरबारमा जान्छौं जुन ल्हासाको एक रातो पहाडको टुप्पोमा अवस्थित छ । यो सातौं शताब्दीमा तिब्बती राजा सोङ्चेन गोम्पोले थाङ दरबारकी राजकुमारी वेनचेङसँग दोस्रो विवाह गरेपछि निर्माण गरिएको हो । १७औं शताब्दीको मध्यमा, यसलाई छैठौं दलाई लामाद्वारा यसको वर्तमान आकारमा पुनर्निर्माण गरियो र दलाई लामाहरूको शीतकालीन दरबार बन्यो । यो दरबरको निर्माण सुरुदेखि पूरा हुन पचास वर्ष लाग्यो भन्ने भनाइ छ ।

पोताला दरबारलाई रातो दरबार र सेतो दरबार गरी दुई भागमा विभाजन गरिएको छ । तेह्र तलाहरुमा फैलिएको पोतालाको कुल उचाइ ११७ मिटर छ । दरबारको पूर्वदेखि पश्चिमसम्म लम्बाइ ४०० मिटर र दक्षिण देखि उत्तर सम्मको चौडाइ ३५० मिटर छ। सुनको छाना सहितको ढुङ्गा र काठले भवन निर्माण गरिएको छ । यो एक भव्य वास्तुकलाको उत्कृष्ट तिब्बती कृति हो ।

बेलुका हामी ल्हासाको सबैभन्दा पवित्र तीर्थस्थल वरखोर चोकका भ्रमण गर्नेछौं, जहाँ अनगिन्ती पसलहरू र बाटो छेउका व्यापारीहरू च्योखाङको वरिपरि घडीको दिशामा हिँड्ने भक्तहरूसँग मिल्छन् । वरखोेर चोकको प्रत्येक कुनामा चारवटा ठूला प्रार्थना झण्डा स्तम्भहरु छन्, जसलाई क्रमशः उत्तरपूर्वमा गधेन धर्चेन, पश्चिममा जुयाक धर्चेन, दक्षिण पश्चिममा केलसाङ धर्चेन र दक्षिणपूर्वमा शार क्यारिङ धर्चेन भनिन्छ । तिब्बती तीर्थ यात्रीहरूसँगै च्योखाङ मन्दिरको वरिपरि साँझको पैदल यात्रा (कोरा) गरेर हामी जीवन भरकै अनुपम अनुभव बटुल्ने छौ ।

बिहानको खाजापछि हामी प्राचीन गुफा र मन्दिरहरूको ऐतिहासिक परिसर टक येर्पाको दर्शन यात्रा गर्नेर्छौं । टक येर्पा, येर्पा उपत्यकाको प्रवेशद्वार, किचु नदीको उत्तरी किनारमा, ल्हासाबाट करिब १६ किलोमिटर उत्तरपूर्वमा अवस्थित छ । त्यहाँबाट येर्पा उपत्यकाको दर्शनीय चूना ढुङ्गाको चट्टानमा रहेको प्रसिद्ध प्राचीन ध्यानगुफाहरूमा पुग्न अर्को १० किलोमिटर छ । येर्पामा धेरै साना साना मन्दिरहरू, तीर्थस्थलहरू र ध्यान आश्रमहरू छन्, र चट्टानहरूमा तिब्बतका केही प्रारम्भिक ज्ञात ध्यान स्थलहरू छन् । यी मध्ये केही पूर्व-बौद्ध समयका छन् । अधिक प्रख्यातहरू मध्ये ती परम्परागत रूपमा सोङ्ग्चेन गाम्पो ६०४-६५० ईस्वी (परम्परागत रूपमा यार्लुङ वंशका २२औं राजा र संयुक्त तिब्बतका पहिलो सम्राट) सँग जोडिएका छन् । उहाँकी तिब्बती रानी मोन्जा त्रिउचमले यहाँ टक येर्पा मन्दिर स्थापना गर्नुभएको थियो ।

राजा सोङ्ग्चेन र उनका दुई विदेशी रानीहरूले ‘पिउमार्सर्गी मन्दिर’ र ‘क्ष्योग्याल फुक’ मा ध्यान गरे र बुद्ध शरीर, वाणी र मनका ‘स्व-उत्पत्ति प्रतीकहरू’ पत्ता लगाएको भनिन्छ । पद्मसम्भव, वा गुरु रिन्पोछे (८औं शताब्दीको प्रारम्भमा) यहाँ आफ्नो योगिनी येशे क्ष्योग्यालसँग तान्त्रिक योग ध्यान र अभ्यास गरे र ‘दावाफुक’ मा सात महिना ध्यानमा बिताए । तसर्थ यो ठाउँ गुरु रिन्पोक्षेको उपलब्धिको तीन सबै भन्दा महत्त्वपूर्ण स्थानहरु मध्ये एक मानिन्छ ।

यसपछि, येर्पा मध्य तिब्बतमा ध्यानस्थलको तीन सबैभन्दा महत्त्वपूर्ण केन्द्रहरू मध्ये एक भएको मानिन्छ । गुरु रिन्पोछेका धेरै शिष्यहरूले पनि यहाँ तपस्या गरेको बताइन्छ । अतीश्य (९८२ – १०५४ ईस्वी) ले उपत्यकामा व्यापक रूपमा प्रचार गरे । अतीश्यको आश्रम भग्नावशेषमा छ, तर १९औं शताब्दीमा ३०० भिक्षुहरू थिए । यो रामोचे मठ (माथिल्लो तान्त्रिक कलेज) को लागि ग्रीष्मकालीन कलेज थियो । यस क्षेत्रका अधिकांश मन्दिर र मठहरू सांस्कृतिक क्रान्तिपछि पुनः बनेका हुन । साँस्कृतिक क्रान्तिमा ध्वस्त भएका अन्य मठहरूको विशाल भग्नावशेषहरू अझै पनि देख्न सकिन्छ ।

त्यहाँ एउटा मात्र आधारभूत खाना खाने ठाउँ छ, त्यसैले ल्हासामा रहेको आफ्नो होटेलबाट प्याक गरिएको खाना लिएर वा गान्देनको दर्शन गर्न जाँदा बाटोमा दिउँसोको खानाको लागि रोकिन सक्छ ।

त्यसपछि, ल्हासाबाट ४० किलोमिटर पश्चिममा रहेको गादेनको दर्शन यात्रामा निस्कने छौं । गेलुग्पा सम्प्रदाय (पहेँलो टोपी सम्प्रदाय) को संस्थापक चोङखा्पाले यो गोन्पा १४०९ मा स्थापना गरेका थिए । चिनियाँहरूले तिब्बतकब्जा गरेपछि यो गोन्पा पूर्ण रूपमा ध्वस्त पारेका थिए, तर अहिले यो लगभग पूर्ण रूपमा पुनर्निर्माण गरिएको छ । पहिलेका समयमा, गादेनमा ५,००० भिक्षुहरू थिए। दर्शन भ्रमण पछि हामी गाडीमा ल्हासा फर्कने छौं ।

बिहानको खाजा पछि, हामी ड्रेपुङ ल्हखङ भ्रमण गर्नेछौं, जहाँ एक समय १०,००० भिक्षुहरूको बासस्थान थिए । यो मठ र सेरा गुम्बा रेड गार्ड्स र तिनीहरूको सांस्कृतिक क्रान्तिको अशान्तिपूर्ण दिनहरूमा क्षतिग्रस्त भएको थियो, तर तिनीहरू अहिले पुनर्स्थापित भएका छन्, र भिक्षुहरू फर्केका छन्, यद्यपि थोरै संख्यामा । ड्रेपुङपछि हामी दलाई लामाको ग्रीष्मकालीन दरबार र हाल एक साधारण संग्रहालयको रुपमा रहेको नोर्बुलिङ्का दरबरको दर्शन भ्रमण गर्नेर्छौं ।

नोर्बुलिङ्काको दर्शन भ्रमण गरिसकेपछि हामी ल्हासाबाट करिब ३ किलोमिटर उत्तरमा, टाटिपु पहाडको फेदमा रहेको सेरा ल्हखङ जानेछौं । सेरा ल्हखङ, १४१९ मा स्थापित, ल्हासा को दोस्रो गेलुक्पा ल्हाखाङ थियो र एक पटक ७,००० भिक्षुहरू थिए । यो सबैभन्दा महत्त्वपूर्ण ल्हखङ मध्ये एक हो र चोङ खापाद्वारा स्थापित तिब्बती बौद्ध धर्मकोको गेलुक्पा शाखालाई समर्पित छ । यसमा धेरै भवनहरू छन्, मुख्यतया कोक्वेन हल र विशेष विद्यालयहरूलाई मानिन्छ । गुम्बा भित्र सुनको धुलोले लेखिएका पवित्र ग्रन्थ, भित्तिचित्र र अद्वितीय मूर्तिहरू संरक्षित छन् । यसको मुख्य मूर्ति घोडाको टाउको भएको धर्म रक्षक हयग्रीवको हो । भ्रमणको अन्त्यमा, हामी भिक्षुहरूद्वारा सञ्चालित स्थानीय चिया घरहरूमा पनि जान्छौं र स्थानीय मानिसहरूसँग बसेर चिया वा खाजा खानेछौं ।

बिहानको खाजा पछि चेतङको लागि सडक यात्रा तय गर्नेछौं, जुन ल्हासाबाट १६० किलोमिटर दक्षिण–पश्चिममा पर्छ । चेतङ यार्लुङ चङ्पो नदीको दक्षिणी किनारमा ३,६०० मिटरको उचाइमा अवस्थित छ र यो चरन भूमि, सुन्दर नदी उपत्यका, हिउँले ढाकिएको पहाड र हिमनदीहरू र वनस्पतिहरूको एक समृद्ध विविधताका लागि परिचित छ । चेतङका प्रमुख स्थानहरूमा तिब्बतको पहिलो दरबार, चेतङको पहिलो मठ, पहिलो बौद्ध हल र तिब्बती राजाहरूका चिहानहरू समावेश छन् ।

चेतङ पुगेपछि होटलमा नै केही समयको विश्रमपछि युम्बु ल्हाखङबाट भ्रमण सुरु गर्छौं । युम्बु ल्हाखङ तिब्बती इतिहासको पहिलो दरबार, जुन दोस्रो शताब्दीमा पहाडको टुप्पोमा बनेको थियो । दरबारमा बुद्धका तीन कालका मूर्तिहरू छन् र साथै तिब्बती राजा ञ्यठी क्षेन्पो, ल्हा थो–थो–री ञ्यानचेन, ठी रल्पच्येन, सोङचेन गोम्पो र ठी सोङ देउचेनका मूर्तिहरू सुरक्षित छन् । तत्पश्चात हामी तरदुक मन्दिरको भ्रमण गर्नेछौं, जुन ७ औं शताब्दीमा राजा सोङचेन गाम्पोले स्थापना गरेको र गेलुक्पा सम्प्रदायसँग सम्बन्धित छ । यहाँ संरक्षित पुरातन चित्रहरू कांस्यले बनेका छन्, र कोरिडोरहरू भित्तेचित्रहरूले भरिएका छन् । अन्तमा, हामी प्राचीन राजाहरूको चिहानहरूको भ्रमण गर्नेछौं । चिहानहरू अझै राम्रो अवस्थामा रहेका छन् । प्राचीन राजाहरूको चिहानले टुबो राज्यको राजाहरूको चिहानहरूको समूहलाई जनाउँछ । त्यहाँ स्पष्ट रूपमा आठ वा नौवटा चिहानहरू देख्न सकिन्छ जसमध्ये राजा सोङचेन गोम्पो, ट्राइड सुक्तेन र ठी सोङ देउचेनको चिहानहरू पहिचान गर्न सकिन्छ ।

बिहानको खाजा पछि, हामी यार्लुङ चाङ्पो नदीको उत्तरी किनारमा अवस्थित साम्या ल्हाखाङको लागि प्रस्थान गर्नेछौं । साम्य आइपुगेपछि हामी चिमफुकसम्म थप १६ किलोमिटर यात्रा गरी पवित्र स्थलहरूको भ्रमण गर्छौं । चिमफुक ध्यान गुफा क्षेत्र तिब्बतको सबैभन्दा पवित्र तीर्थस्थलहरू मध्ये एक हो  । चिमफुकको पहाडी क्षेत्रहरु ध्यान गुफाहरू र आश्रमहरूले भरिएको छ जुन योगीहरूले शताब्दीयौंदेखि उनीहरूको ध्यान लागि प्रयोग गर्दै आएका थिए । इतिहासले विगतमा १०८ ध्यान गुफाहरू भएको वर्णन गर्दछ, जसमा द्रक्मान केउत्साङ गुफा पनि पर्दछ, जहाँ गुरु पद्मसंभवले आफ्ना आठ शिष्यहरूलाई शिक्षा दिनुभएको थियो । ल्हासाको येर्पा उपत्यकाको टक येर्पामा जस्तै त्यहाँ गुरु पद्मसम्भाव, अतीशा र तिब्बती राजा ठिसोङ देउत्चेनसँग सम्बन्धित गुफाहरू छन् ।

दिउँसो हामी साम्या गोन्पाको दर्शन भ्रमण गर्नेछौं । तिब्बतको पहिलो गोन्पा मानिने साम्य गोन्पा ७७९ ईस्वीमा गुरु रिन्पोछे र तिब्बती राजा ठीसोङ देउचेनको निरीक्षणमा निर्माण गरिएको हो । भव्य र अद्वितीय केन्द्रीय हल तीन तला अग्लो छ । पहिलो तल्ला तिब्बती शैलीमा, दोस्रो हान शैलीमा र तेस्रो तल्ला नेपाली शैलीमा बनेको छ । मठको हलहरूमा धेरै मूर्तिहरू र भित्ते चित्रहरू छन् । मठमा काँसाको घण्टी, सिंह र नक्काशीदार संगमरमरका पाटीहरू छन्, जसमा तिब्बतमा बुद्ध धर्मको विकास सम्बन्धी रेकर्ड कुँदिएका छन् ।

हामी बिहानै चेताङबाट प्रस्थान गर्छौं । बाटोमा पवित्र यमद्रोक ताल, न्योचेन कान्साङ र त्यसका हिमनदीहरू र ग्यान्त्चे कुबुम क्ष्योर्तेनको दर्शन भ्रमण गर्छौ । यमद्रोक ताल तिब्बतको ठूलो र सुन्दर ताल मध्ये एक हो । हामी यस तालको किनारमा करिब २ घण्टाको ड्राइभ गर्दै दृष्यावलोकन गर्छौ । यमद्रोक भनेको राम्रो मौसमका दिनहरूमा नीलो रङ्गको युङ् (फिरोजा) हो । योे ताल अन्य तिब्बती तालहरू भन्दा फरक भएकोले तालको पानी मीठो भएको र नुनिलो नभएको बताइन्छ । यो ६२४ वर्ग किलोमिटरसम्म फैलिएको छ ।

छोटो ड्राइभपछि, हामी हाम्रो खाना खाने ठाउँ, नगरचे पुग्छौं । खानापछि, हामी एक सुन्दर र साँघुरो हिम उपत्यका हुँदै यात्रा जारी राख्छौं र न्योचेन कान्साङ पहाड पार गर्छौं । जहाँ हामी फोटोग्राफीको लागि रोकिनेछौं र गोन्पाहरु र पुरानो किल्ला बीचको सानो तिब्बती सहर ग्यान्चेतर्फ यात्रा जारी राख्नेछौं । ग्यान्चे उपात्यका कृषिमा धनी र ऊन, गलैंचा र यसको कुबुम क्ष्योर्तेन गोन्पाका लागि प्रसिद्ध छ ।

ग्यान्चेमा हामी कुबुम क्ष्योर्तेन र पाल्चोइ गोन्पाको दर्शन भ्रमण गर्नेर्छौं । नेपालका नेवारी कलाकार र तिब्बती कलाकारहरुको सहकार्यमा सन् १४१४ मा निर्मित अनौठो संरचनासहितको पल्खोर क्ष्योर्तेन, नौ तला, १०८ वटा ढोका र ७७ वटा माटोको मूर्ति र विभिन्न भित्ति चित्रहरु सहितको छ । क्ष्योर्तेनमा १००,००० मूर्तिकला र चित्रहरु छविहरू छन् भनिन्छ । यसको नाम “१००,००० मूर्ति क्ष्योर्तेन” (कुबुम) यसैको कारण हो ।

भ्रमणपछि हामी तिब्बतको दोस्रो ठूलो सहर शिगात्चेको लागि ड्राइभ जारी राख्छौ । शिगात्चे ल्हासाबाट ३५५ किलोमिटर पश्चिममा अवस्थित छ, जहाँ न्याङ्चु नदी यार्लुङ चाङ्पो नदीसँग मिल्छ । शिगात्चे तिब्बतको दक्षिणपूर्वी भागको कृषि उत्पादन, पशुपालन उत्पादनहरू र यातायातको वितरणको केन्द्र हो । तिब्बती भाषामा शिगात्चेको अर्थ “आफ्नो इच्छा पूरा गर्ने सम्पदा” हो । शिगात्चेमा आइपुगेपछि हामी होटलमा आराम गर्नेछौं ।

बिहान हामी सिगात्चेको प्रसिद्ध टशील्हुन्पो गोन्पाको दर्शन भ्रमण गर्छौं । यो गोन्पा तिब्बतको छाङ क्षेत्रको सबैभन्दा ठूलो गेलुग्पाको गोन्पा हो । यो शिगात्चे सहरमा अवस्थित छ र गेलुग्पा सम्प्रदायका संस्थापक चोङखापाका शिष्य गेदुन ड्रुपद्वारा स्थापना गरिएको हो । गेदुन ड्रुपलाई पहिलो दलाई लामाको रूपमा चिनिन्छ । यो पहिलो पटक १४४७ मा बनाइएको थियो र पेन्क्षेन लामाहरूद्वारा लगातार विस्तार गरिएको थियो । यस गोन्पाको सबैभन्दा ठूलो मूर्ति १९१४ मा ९औं पेन्क्षेन लामाद्वारा निर्माण गरिएको विशाल मैत्रेय (भविष्यको बुद्ध) को मूर्ति हो । मूर्ति छब्बीस मिटर अग्लो रहेको र २७५ किलोग्राम ठोस सुन र धेरै बहुमूल्य बस्तुहरु मोती, फिरोजा, कोरल र एम्बरहरुले बनेको छ । यो मूर्ति बनाउन चार वर्ष लागेको बताइन्छ । चौथो पेन्क्षेन लामाको अन्त्येष्टि स्तूप १६६२ मा निर्माण गरिएको थियो । यो एघार मिटर अग्लो छ र ठोस सुन र चाँदीले बनाएको छ ।

भ्रमणपछि हामी दिनको यात्रा सुरु गर्नेछौं । आजको दिन हामी तिब्बतको सबैभन्दा अमूल्य गोन्पा, शाक्य ल्हाखङको पनि दर्शन भ्रमण गर्नेछौं । शाक्य ल्हाखङ छाङ क्षेत्रको सबैभन्दा महत्वपूर्ण ऐतिहासिक स्थलहरूमध्ये एक हो । शाक्य, मञ्जुश्री, अवलोकितेश्वर र वज्रधाराको त्रिमूर्तिको प्रतीकका लागि रातो र सेतो ठाडो पट्टीहरूसँग खरानी खैरो रंगमा रंगिएको भवनहरूको विचित्र रंगलाई प्रकश पार्छ ।

शाक्य ल्हाखङमा अनगिन्ती लेखहरूको संग्रह, युआन राजवंशको भित्ति चित्र, ३,००० भन्दा बढी थाङ्का, पदनामहरु, टिकटहरू, मुकुट, पोर्सिलेन वस्तुहरू, सोङ र युआन राजवंशको कढाई कपडाहरु, कपडा र गहनाहरू र एक ठूलो वर्मिलियन स्तम्भ छन् । उक्त वर्मिलियन स्तम्भ शाक्य भ्रमणको क्रममा राजा कुबलाई खानले उपहर स्वरुप शाक्य ल्हाखङलाई चढएका थिए । कुबलाई खान, चंगेज खानका नाति र युआन मंगोल वंशका पाँचौं सम्राट हुन् र उनले १२६०–९४ सम्मा शासन गरेका थिए । कुबलाई खानले १२७९ मा चंगेज खानले सुरु गरेको चीनको विजय पूरा गरे र सम्पूर्ण चीनको पहिलो युआन शासक बने ।

तिब्बतको सबैभन्दा महत्वपूर्ण गोन्पाहरूमध्ये एकको भ्रमण गरिसकेपछि हामी सानो पहाडको फेदमा विशिष्टरुपमा रहेको तिब्बती शैलीको गाउँको रुपमा रहेको तिब्बती बस्ती श्येल्गर जान्छौं । गाउँमा गुम्नु भयो भने तपाईंलाई सामान्य दुर्गम तिब्बती जीवनशैलीको ज्ञान दिन सक्छ । श्येल्गरको सडक किनारबाट दक्षिणी दिशातर्फ सगरमाथा देख्न सकिन्छ ।

बिहान, हामी बिहान सबेरै उठेर सगरमाथाको सूर्योदय हेर्ने छौं र खाजा खाएर रोङबुक गोन्पा र एभरेष्ट बेस क्याम्पको दर्शन भ्रमण गर्न त्यसतर्फ जान्छौं । श्येल्गरबाट प्रस्थानको केही समयपछि, पाङला ५१५० मिटर पासबाट हामी मकालु देखि शिशापाङ्मा सम्म निर्बाध फैलिएको अविश्वसनीय दृश्यहरुको अनन्द लिनेछौं । पङला पासबाट सगरमाथा दृश्यबाट लुकेको छ, तर जब हामी रोम्बुक उपत्यकाको कुनामा पुग्छौं यो पहिले भन्दा बढी प्रभावशालीसँग फेरि देखा पर्छ ।

समुन्द्री सतहबाट ५ हजार मिटरको उचाइमा रहेको रोङबुक गोन्पा विश्वमा यति उचाइमा अवस्थित एक मात्र गोन्पा हो । यो चोमोलुङ्मा, जसलाई सगरमाथा भनिन्छ, को फेदमा बनेको छ   जहाँ तिब्बतका अन्य गोन्पाहरूको तुलनामा भिक्षु र भिक्षुनीहरूको समुदाय सानो छ । सगरमाथाको आधार शिविरमा एक दर्शनीय  भ्रमणपछि हामी सागातर्फ प्रस्थान गर्नेर्छौं । जो च्योयुको हिमालको दृश्यको साथ रमणीय परिदृश्यको बीचमा यात्रा जारी रहन्छ । बाटोमा हामी सुन्दर पेइकुचोको ताल र दाँयतर्फ शीशाबाङ्मा हिमालको सुन्दर दृश्यको आन्नद लिनेछौं । सागा काउन्टीमा पुग्नु अघि, हामी कैलाशको मुहानबाट सुरु भएको ब्रह्मपुत्र नदी पार गर्नेछौं, जुन सिगात्चे लगायत तिब्बतको पश्चिमी भागबाट बग्छ र अन्तमा बंगालको खाडीमा पुग्दछ ।

सागापछि, हामी पश्चिमी तिब्बती पठार, घुमन्ते शिविरहरुले भरीएको याक र भेडाहरू चर्ने भूमिको बिशाल घाँसे मैदान, ताल र नदीहरू हुँदै गाडीमा यात्रा जारी राख्छौं । टाढा दक्षिणमा तपाईंले हिउँले ढाकिएका चुचुराहरू देख्न सक्नुहुनेछ र आफ्नो नजिकै धेरै चट्टानी पर्वतहरू र हिमालीमरुभूमिले हामीलाई एक अलग्गै संसारको अनुभाव दिन्छ । बाटोमा हामी ४,५०० मिटरको उचाइमा पुरानो जोङ्बा गाउँमा रहेको गोन्पाको दर्शन भ्रमण गर्नेछौं ।

गोन्पाको दर्शन भ्रमणपछि हाम्रो यात्राजारी रहनेछ । बाटोबाट पवित्र कैलाश र मानसरोवरतालको प्रथम दर्शन गर्न सकिन्छ । ४,५५८ मिटरको उचाइमा रहेको पवित्र मानसरोवर ताल संसारकै सबैभन्दा अग्लो स्थानमा माछा र हाँसले भरिएको युङ (पिरोजा) रंगको ताजा पानीको ताल हो । पवित्र पर्वत कैलाश हिमाल, गुर्ला-मान्धाता, रासेक्षी ताल यसको वरिपरि परेको छ । यहाँको सम्पूर्ण क्षेत्र सुन र अन्य खानी तथा तातो पानीको मुहान र सयौं जंगली जीवहरूको लागि धनी मानिन्छ । हामी दिउँसोको खानाको समयमा मानसरोवर तालमा आइपुग्नेछौ । खाना खाएपछि तारचेनको लागि प्रस्थान गर्नेछौं, जुन लगभग २७ किलोमिटरको दुरीमा अवस्थित छ ।

हामी बिहान सबेरै उठ्छौं, चिया–खाजा खान्छौं र तारबोचेसम्म ८ किलोमिटरको दुरी ३० मिनेटमा गाडीमा यात्रा गर्नेर्छौं । तारबोचे एक धेरै महत्व बोकेको विशेष मैदान हो, जहाँ बैशाख पूर्णिमाको दिनमा प्रार्थनाको पोल उठाउने महत्त्वपूर्ण वर्षिक पूजा (सागा दावा) हुन्छ । तारबोचे पवित्र पर्वत कैलाश कोराको आधार शिविर पनि हो र यहीबाट याक र घोडाहरूको चडाई सुरु हुन्छ । दर्शन भ्रमणपछि हामी तार्चेन फर्कने छौं र चिउ गोन्पा र मनोसरोवर तालको भ्रमण गर्नेछौं । चिउ गोन्पा वा स्प्यारो मोनेस्ट्री, निंगमापा सम्प्रदायको गोन्पा, दार्चेनबाट ३३ किलोमिटर टाढा, मानसरोवर तालको पश्चिम किनारमा ४५९० मिटरको उचाइमा, मानसरोवर ताल, माउन्ट गुर्ला मानधाता (७,६९४) र कैलाश पर्वतको मनोरम दृश्यका साथ अवस्थित छ । ७ औं शताब्दीको अन्त्यतिर, तिब्बती बौद्ध धर्मका संस्थापक बौद्ध गुरु पद्मसंभवले यस गुफामा सात दिन बिताए र चट्टानमा आफ्नो पाइलाको छाप छोडे । उक्ता पवित्र गुफालाई केन्द्र भागमा राखेर चिउ गोन्पा निर्माण गरिएको छ । चिउ गोन्पाबाट, मौसम सफ रहेमा, उत्कृष्ट दृश्यहरुको आन्नद लिन सक्नेछौं । मानसरोवर शान्ति, करुणा र आनन्दको ताल हो । त्यसैले दिउँसो, हामी तालको कुनाहरू वरिपरि बिताउँछौं र तालको केही भव्य दृश्यहरूको आनन्द लिनेछौं ।

पवित्र कैलाश पर्वतको भ्रमण भनेको संसारको सबैभन्दा पवित्र स्थानहरू मध्ये एकको भ्रमण पूरा गर्नु हो । त्यसैले जीवनभरको एक महान् यात्राको उपलब्धि बोकेर हामी फर्कनेछौँ  फर्कने बाटोमा हामीले कैलाश पर्वतलाई तीर्थयात्रीहरूद्वारा चढाइएका प्रार्थना झण्डाहरूको थुप्रो सडकको छेउमा देख्न पाउँछौं । हामी पवित्र कैलाशको अन्तिम दृश्यको लागि यहाँ रोकिन्छौं र गुन्ग्यो चो (ताल) हुँदै मर्युम ला ५,१४० मिटरमा पुग्छौं । मर्युमलाबाट विशाल तिब्बती पठार र पहाडहरुको दृश्यहरू अवालोकनको लागि हामी छोटो समय रोकिन्छौं ।

हामी झोङब को शहर र केही साना पासहरू हुँदै र चौँरीका बथानहरूले भरिएको विशाल खुला क्षेत्रहरूबाट हेर्दै सागासम्माको यात्रा जारी राख्छौं । हिउँले ढाकिएको नेपाली हिमालय श्रृङ्खलाका दृश्यहरूले दक्षिणतिरको क्षितिजलाई भर्दछ । झोङबाका गाउँहरू र एउटा सानो पास पार गरेपछि हामी चिनियाँ र तिब्बतीहरूको सानो सहर सागा पुग्छौं ।

हामी नेपाल र तिब्बत बीचको नयाँ सिमाना किरुङ सहर सम्माको यात्रा तय गर्छौं । अप्रिल २०१५ को भूकम्पका कारण पुरानो नाका (तातोपानी नाका) बन्द भएको थियो । आजको पूरै बाटो चीन÷तिब्बतको एक मात्र ८ हजार मिटरको उचाइमा रहेको शिशापाङ्मालगायत हिमालको दृश्य र पेइकुचोको दर्शनले मनोरम छ । आजको सबैभन्दा अग्लो पास भनेको गोङ्गथाङला ५००० मिटर हो । आजको दिन दृश्यात्मक रूपमा अनुपम छ र फोटो खिच्ने अवसरहरू प्रशस्तै प्रदान गर्दछ । बाटोमा, हामी टकखार्थसो (मिलेरापालृ ज्ञान प्रप्त गर्नु भएको गुफा) र धर्म राजा सोंगत्सेन गाम्पो द्वारा निर्मित जामटिन ल्हखाङको पनि दर्शन भ्रमण गर्नेछौं ।

हामी बिहानै तिब्बती भागको किरुङ छोडेर नेपाली सिमाना तर्फ जान्छौँ । हाम्रो तिब्बती पथप्रदर्शक र ड्राइभरले हामीलाई चीनीया भन्सार र अध्यागमनबाट पास आउट गर्न मद्दत गर्नेछन् । नेपाली सीमामा पुग्दा हाम्रो नेपाली गाडी हाम्रो आगमनको लागि पर्खिरहेको पाउनेछौं । नेपालतर्फकोअध्यागमन औपचारिकताहरू पूरा गरेपछि हामी सुन्दर नेपाली ग्रामीण इलाकाहरुको आनन्द लिँदै काठमाडौं तर्फको यात्रा जारी राख्नेछौं । नेपाल तर्फको सडक तिब्बतको मैदानमा जत्तिकै राम्रो नभएकोले १५० किलोमिटरको दूरी गाडीमा यात्रागर्दा कम्तीमा ५ घण्टा लाग्न सक्छ! तसर्थ किरुङदेखि काठमाडौं ७ घण्टमा पुग्नेछ । काठमाडौं आइपुगेपछि हामी सबै सदस्यहरूलाई बिदाइ गरी सबैलाई अ-अफ्नो घरमा पुर्‍याउनेछौं ।

लागत समावेश सेवाहरु / लागतमा समावेश नभएकासेवाहरू
लागत समावेश सेवाहरु
  • यात्रा कार्यक्रमअनुसार एयरपोर्टमा लिन आउने र पुर्याउने सेवा
  • तिब्बती भिसा र भिसा शुल्क र क्षेत्रीय भ्रमण अनुमतिहरु
  • काठमाडौं देखि ल्हासाको हवाई भाडा (कर सहित)
  • कार्यक्रम तालिका अनुसार तिब्बतमा बस्ने व्यवस्था (प्रत्येक बिहानको खाजा समावेश भएको)
  • यात्रा कार्यक्रम अनुसारका लागि अङ्ग्रेजी र तिब्बती बोल्ने तिबेतीयन पथप्रदर्शक
  • नेपालबाट एक पथप्रदर्शक र एक पथप्रदर्शकको सहयोगी
  • समूह आकार अनुसार आवश्यक पर्ने एउटा राम्रो पर्यटक वाहन
  • तारचेन देखि तारबोचे र तारबोचे देखि तारचेन पर्यावरणीय बस सेवा
  • कैलाशपर्वत र मानसरोवर संरक्षण शुल्क सबै सदस्यहरूको लागि
  • सगरमाथा संरक्षण शुल्क सबै सदस्य, पथप्रदर्शक र सवारी साधन समेतलाई
  • सगरमाथा आधार शिविर संरक्षण शुल्क सबै सदस्य, पथप्रदर्शक समेतलाई
  • राष्ट्रिय घाँसे मैदान संरक्षण शुल्क
  • यमद्रोक ताल संरक्षण शुल्क
  • करोला ग्लेशियर संरक्षण शुल्क
  • तिब्बतमा सबै गोन्पा, मठ र स्मारकहरुमा प्रवेश अनुमति शुल्कहरु
  • केरुङदेखि काठमाडौं जिपबाट यातायात सेवा
  • प्रत्येक सदस्यको लागि १ बोतल मिनेरल पानी प्रत्येक दिन
लागतमा समावेश नभएकासेवाहरू
  • सम्पूर्ण भ्रमण अवाधिको लागि दिउँसो र बेलुकाको खानाहरु
  • सबै प्रकारका पेय पदार्थहरु
  • माथिको लागतमा समावेश सेवहरुमा उल्लेख नगरिएको अन्य सेवहरु
नेपाल, भारत, तिब्बत र श्रीलंकाको बौद्ध तीर्थयात्रा गर्न जानु एउटा परिवर्तनकारी अनुभव हो।

तीर्थयात्रा

मार्च 18, 2024

श्रीलंकाको बौद्ध यात्रा

१४ रात १५ दिनको पहिले कहिल्यै नगरिएको श्रीलंकाको बौद्ध यात्रा श्रीलंका बौद्ध दर्शन पछ्याउने एक लचिलो राष्ट्र हो । जहाँ तपाईले भगवान बुद्धको पदचिह्न, हिन्द महासागरको प्राचीन संस्कृति र आध्यात्मिक अभ्यासको साक्षी पाउनुहुनेछ । काठमाडौं बाट […]

थप पढ्नुहोस्
मार्च 4, 2024

त्रिलोकीनाथ मन्दिर दर्शन

श्री त्रिलोकीनाथ मन्दिर (तिब्बतीमा गर्श फाक्पा གར་ཞ་འཕགས་པ) भारतको हिमाचल प्रदेशको लाहौल र स्पीति जिल्लामा स्थीत छ । यो दर्शनीय स्थान चन्द्रभागा वा चेनाब नदीको बायाँ किनाराबाट ६ किमी दक्षिणमा र उदाईपुर गाउँबाट करिब ९ किमीको दूरीमा […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

हलेसी माराटिका

परिचय हलेसी भन्नाले शेर्पा र तिब्बती भाषामा प्रशंसनीय (हल्याउ) भनेर बुझिन्छ र माराटिकाको अर्थ माराहरु (मृत्युको अन्त्य वा मारा राक्षस हटाएकोे) परास्त गर्नु भन्ने हुन्छ । तसर्थ हलेसी–माराटिका भन्नाले “माराहरुमाथि प्रशंसनीय विजय” भन्ने बुझिन्छ । हलेसी–माराटिका […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

क्षुमीक च्यङक्षुप (दामान)

क्षुमीक च्यङक्षुप (ऋषेश्वर) ཆུ་མིག་བྱང་ཆུབ་, मकवानपुर जिल्लाको दामान र सिमभञ्ज्याङको बीचमा गुरू पद्मसम्भवको पवित्र तीर्थस्थान रहेको छ । यो तीर्थस्थान बौद्धमार्गीहरुका लागि धेरै समहत्वपूर्ण मनिन्छ । गुरु पद्मसम्भवले नेपाल, भारत र तिब्बतमा अति भयानक एवं डरलाग्दोे राक्षस र दानवहरुले धेरै दुःखदिने स्थानहरुमा पाईला राखी केही दिन ध्यान बस्दै, शक्ति प्रप्त गर्दै...

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

छो पेमा अथवा रेवलसर

छो पेमा अथवा रेवलसर ताल, जसलाई तिब्बती भाषामा छो पेमा (छो-पोखरी, पेमा-कमलको फूल) भनिन्छ, जुन भारतको हिमाञ्चल प्रदेश स्थित मण्डी जिल्लाको पहाडमा अवस्थित मध्य-उचाईमा रहेको ताल हो । मण्डी शहरबाट २२.५ किलोमिटर दक्षिण-पश्चिममा अवस्थित यस ताल समुन्द्र सतहबाट लगभग १,३६० मिटर (४,४६० फिट) को उचाइमा रहेको छ ।

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

ताक्मो लु ज्यीन् (नमो बुद्ध)

नमो बुद्धले बुद्धको पूर्व जीवनको असाधारण कथालाई प्रकाश गर्दछ, जसलाई एक बाघिनी र तिनका पाँच सानो डमरुको दयनीय दृश्यमा करुणाले छोएको थियो, जसको कारणले बोधिसत्व राजकुमारले आफ्नो शरीरलाई खानाको रूपमा बाघिनीलाई दिइ बाघिनी र डमरुहरुको जीवन बचेको थियो । नमो बुद्ध स्तुपको उत्पत्तिको दुःखद कथा बोधिसत्व भगवान बुद्धको बत्तीस पुनर्जन्मसँग सम्बन्धित रहेको छ । वर्तमान नमो बुद्धको पुरानो नाम गन्धमालापर्वत थियो ।

थप पढ्नुहोस्
जनवरी 30, 2024

“बुद्धको मार्गमा” तीर्थयात्रा कार्यक्रम

हामीले तपाईंलाई यी ठाउँहरूमा लैजान्छौं र भगवान बुद्धको आत्म-अनुशासित र पौराणिक जीवनको अनुभव गर्न मद्दत गर्दछौ । बुद्ध धर्मको उत्पत्ति भएको नेपालको लुम्बिनी-कपिलवस्तु र भारतका बोधगया, सारनाथ, कुशीनगर जस्ता बौद्ध विरासतको समृद्ध सम्झनाहरू बोकेको पवित्र स्थानहरु र ती पवित्र स्थानहरुको वरपर छरिएर रहेका पवित्र कला र वास्तुकलाले भरिएका स्तूपहरू, चैत्यहरु र विहारहरूको भ्रमण गर्नु बौद्धमार्गी र  सबै धर्मका लागि जीवनकालमा कम्तीमा एक टक पुग्नैपर्ने स्थानहरु हुन् ।

थप पढ्नुहोस्